LIVE NEWS
'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियो

‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना माग

जनकपुरधाम । युवाका लागि सञ्चालन गरिएका कार्यक्रम, छुट्याइएको बजेट तथा रोजगारीसम्बन्धी तालिम र रोजगारी सिर्जनाका कार्यक्रमको विस्तृत विवरण माग गर्दै युवाहरूले जनकपुरधाम उपमहानगरपालिकासँग सूचना माग गरेका छन्।

लव झा, निशान्त ओझा, ज्योति ठाकुर, हुनेन्द्र नारायण शाहलगायतका युवाहरूले संयुक्त रूपमा हस्ताक्षर गरी २०८३ भदौ ९ गते जनकपुरधाम उपमहानगरपालिकाका कार्यालय प्रमुखसमक्ष निवेदन दर्ता गराउँदै सूचना उपलब्ध गराउन माग गरेका हुन्।

नेपालको संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ र ६ बमोजिम दिइएको निवेदनमा आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्म युवालाई लक्षित गरी सञ्चालन गरिएका सम्पूर्ण कार्यक्रमको सूची माग गरिएको छ।

त्यसैगरी, सो अवधिमा युवाका लागि छुट्याइएको बजेटको वर्षगत विवरण, बजेट खर्चको अवस्था तथा रोजगारीसँग सम्बन्धित तालिम सञ्चालन गरिएका कार्यक्रम र ती कार्यक्रममार्फत सिर्जना गरिएको रोजगारीको विवरणसमेत उपलब्ध गराउन माग गरिएको छ।

निवेदक लव झाले युवाका लागि उपमहानगरपालिकाले सञ्चालन गरेका कार्यक्रम तथा त्यसमा भएको बजेट र उपलब्धिको अवस्था अध्ययन तथा जानकारीका लागि सूचना आवश्यक परेको बताए। संविधान र सूचनाको हकसम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गर्दै सूचना माग गरिएको उनको भनाइ छ।

त्यस्तै, ज्योति ठाकुरले आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्म युवाका लागि छुट्याइएको बजेटको स्पष्ट विवरण आवश्यक रहेको बताइन्। युवालाई लक्षित कार्यक्रमका नाम, बजेट तथा कार्यान्वयनको अवस्थासहितको सूची उपलब्ध गराउन निवेदनमा माग गरिएको उनले जानकारी दिइन्।

युवाहरूले रोजगारीसम्बन्धी तालिम कहाँ, कहिले र कति जनालाई प्रदान गरियो तथा त्यसबाट कति रोजगारी सिर्जना भयो भन्ने विषयको विवरणसमेत माग गरेका छन्। आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्म सञ्चालन भएका त्यस्ता सबै कार्यक्रमको सूची उपलब्ध गराउन उनीहरूले उपमहानगरपालिकासँग आग्रह गरेका हुन्।

निवेदनमा माग गरिएको सूचना सूचनाको हकसम्बन्धी ऐन, २०६४ को प्रावधानअनुसार लिखित वा विद्युतीय माध्यमबाट उपलब्ध गराउन अनुरोध गरिएको छ। सूचना प्राप्त गर्न आवश्यक पर्ने कानुनबमोजिमको शुल्क तिर्न आफूहरू तयार रहेकोसमेत निवेदकहरूले उल्लेख गरेका छन्।

युवाहरूले निर्धारित कानुनी अवधिभित्र माग गरिएको सूचना उपलब्ध गराउनुका साथै आवश्यक विवरणसमेत प्रदान गर्न आग्रह गरेका छन्। माग गरिएका सम्पूर्ण सूचना इमेल वा भौतिक माध्यमबाट उपलब्ध गराउन अनुरोध गरिएको छ।

यस निवेदनको बोधार्थ राष्ट्रिय सूचना आयोग, अनामनगर, काठमाडौंलाई समेत दिइएको छ।

युवाका नाममा सञ्चालन भएका कार्यक्रम, त्यसका लागि छुट्याइएको सार्वजनिक बजेट र रोजगारी सिर्जनाको वास्तविक अवस्थाबारे विवरण मागिएसँगै जनकपुरधाम उपमहानगरपालिकाको युवा लक्षित कार्यक्रमको प्रभावकारिता र बजेट कार्यान्वयनबारे चासो बढेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर