LIVE NEWS
'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियो

बुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा बुधबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई ११ जना सांसदले प्रत्यक्ष प्रश्न सोध्ने भएका छन् ।

संसद् सचिवालयका अनुसार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले पनि प्रश्न राख्ने भएका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्नाले प्रश्न सोध्ने गरी नाम दर्ता गराएका छन् । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन र प्रमेशकुमार हमालले प्रधानमन्त्रीसँग प्रश्न गर्नेछन् ।

श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछिन् ।

प्रश्न सोध्ने सबै सांसदले आफूले प्रश्न गर्न चाहेको विषय र प्रश्नको विवरण संसद् सचिवालयमा दर्ता गराइसकेका छन् । यसअघि भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि बुधबारको समय निर्धारण गरेका थिए ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था गरिएको छ । नियमावलीअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार सभामुख अर्यालले बुधबारको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखेका हुन् ।

नियमावलीको दफा ५७ मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, दफा ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले आफ्नो प्रश्नको विषयसम्बन्धी लिखित जानकारी बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि सभामुखलाई गराउनुपर्ने हुन्छ ।

यसैअनुसार सभामुख अर्यालले प्रधानमन्त्रीलाई प्रश्न सोध्न चाहने सांसदलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गराउन समय दिएका थिए । तोकिएको समयभित्र ११ जना सांसदले प्रश्न दर्ता गराएका हुन् ।

प्रतिनिधिसभामा बढीमा १५ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था थियो । तर, तोकिएको संख्याभन्दा कम ११ जना सांसदले मात्रै प्रश्न दर्ता गराएका छन् । सभामुखले सबै दलबाट कम्तीमा एक जना सांसद सहभागी हुने र बाँकी संख्या दलको प्रतिनिधित्वका आधारमा निर्धारण गरेका थिए । सो व्यवस्थाअनुसार रास्वपाका सात जना सांसदले प्रश्न सोध्न पाउने भए पनि तीन जनाले मात्रै प्रश्न दर्ता गराएका छन् ।

प्रतिनिधिसभा नियमावलीको दफा ५९ मा प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रश्न स्वीकारयोग्य भए नभएको निर्णय गर्ने अधिकार सभामुखलाई दिइएको छ । प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी अन्य कार्यविधि पनि सभामुखले निर्धारण गरेबमोजिम हुने व्यवस्था छ ।

त्यस्तै, दफा ६० अनुसार प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीले दिएको जवाफका सम्बन्धमा प्रतिनिधिसभामा कुनै छलफल गरिने छैन । बुधबारको कार्यक्रममा सांसदहरूले प्रधानमन्त्री बालेनसँग सरकारको कामकारबाही, नीति तथा समसामयिक विषयमा प्रश्न राख्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर