LIVE NEWS
पर्सामा लोकतान्त्रिक पत्रकार संघको पहिलो कार्यालय उद्घाटननगर प्रमुख साह अख्तियारको फन्दामा, घुससहित रंगेहात पक्राउपूर्वाञ्चल विश्वविद्यालयको नयाँ बजेट सार्वजनिक — १ अर्ब ७० करोड रुपैयाँ शिक्षण अस्पताल र एमबिबिएसमा प्राथमिकतावीरगञ्जमा खानेपानी संकट नियन्त्रणमा प्रदेश सरकारको वारुणयन्त्र परिचालनसर्लाहीमा पिकअप र मोटरसाइकल ठोक्किँदा दुई नेपाली सेनासहित पाँच घाइते“जनकपुरमा अटो–इ–रिक्सा अव्यवस्थापन विरुद्ध विद्यार्थी जनमत संघको ज्ञापनजनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि आफ्नै पार्टीकै केन्द्रीय सदस्यले कालोमोसो छ्यापे

अब्बल मानिस राजनीतिमा लागेपछि मात्र कमसलको बहिर्गमन सम्भव हुन्छ- अध्यक्ष डा.राउत

फागुन ०३, जनकपुरधाम। जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राजनीतिप्रतिको चासोविहीनता र नियन्त्रण अभावमा शासित हुनुपर्ने अवस्था निम्त्याउने भएकाले दिलबाटै खेलेर राजनीतिमाथि नियन्त्रण र नेतृत्व गर्न विद्यार्थीलाई आह्वान गरेका छन् ।

विद्यार्थी जनमत संघ धनुषाद्वारा शनिबार जनकपुरधाममा आयोजित स्ववियु निर्वाचन प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले राजनीतिप्रति चासो लिने, राजनीतिलाई नियन्त्रित र निर्धारण गर्ने व्यक्तिले शासन गरिरहने भएकाले राजनीतिलाई समय बिताउने तथा अंशकालीन बनाउने रुचिबाट उब्रिन विद्यार्थीहरूलाई आग्रह गरेका हुन् । उनले राजनीतिमा चासो लिनैपर्ने र नलिई बस्न नसकिने हुँदा राजनीतिमाथि नियन्त्रण गरी जित हासिल गर्नेतर्फ लाग्नुपर्ने बताए । उनले भने, ‘यो मस्तिष्कबाट हटाउनुस् कि राजनीति भनेको समय बिताउने काम हो । मन नलागी गर्नेजस्तो अंशकालीन राजनीति गर्ने पनि होइन । अलिकता देखिहाल्छु, सुनिहाल्छु भनेर हुँदैन । पुरा दिलबाट लाग्नुस् । अनि जित हासिल हुन्छ । अब्बल मानिस राजनीतिमा लाग्दा मात्र कमसल मानिसको बहिर्गमन हुन्छ ।’

अध्यक्ष राउतले राजनीतिले नै सबैथोक निर्धारण गर्ने भएकाले यसमा बहानाबाजीको ठाउँ नरहने औंल्याए । उनले अखाडामा उत्रिने पहलमानले पिठ्युमा गिट्टीढुङ्गाले घोचेर, चिप्लिएर, अभ्यास नपुगेर वा भोकभोकै आएकाले जित्न नसकेको भन्नुको कुनै अर्थ नरहेको भन्दै त्यहाँ हार्नु भनेको हार्नु र जित्नु भनेको जित्नु रहेकाले चित्त बुझाउने भाषाको प्रयोग गर्न नपर्ने अवस्थामा पुग्नुपर्ने उल्लेख गरे । उनले चुनावमा समेत एक भोटले वा हजार भोटले जित्नु भनेको जित नै भएकाले नयाँ संगठन, चुनावमा पहिलोपटकको सहभागिता र अनुभवको कमी आदि निहुँ बनाएर जितबाट पन्छिन नमिल्ने भन्दै कुनै हालतमा जित्नुपर्छ भन्ने एकमात्र विकल्प राखेर रणनीति, कार्यक्रम र त्यसअनुसारको मिहिनेत गर्न विद्यार्थीलाई सुझाए । उनले भने, ‘हामी नयाँ छौँ । अखिल र नेविसंघ पुराना छन् । तिनीहरूसँग कसरी सक्ने भन्ने मानसिकता त्याग्नुस् । तिनीहरू पुराना भएर पनि केही गर्न नसकेको र तिनीहरूलाई हेरिसकिएको अवस्थामा पुराना भएको स्थितिलाई नस्वीकार्नुस् । आफ्ना दृष्टि, गर्नुपर्ने कामका विवरण र विकृति सुधारका योजना नयाँ प्रविधिसमेतको प्रयोग गरी प्रसार गर्नुस् । नयाँ हुनुको फाइदा हामीसँग छ । नयाँ मोबाइल पुरानाभन्दा उन्नत हुन्छ ।’

अध्यक्ष राउतले प्लसटु संस्कृतिका कारण कोर्सका किताब, प्रश्नपत्र र प्रश्नपत्रको सङ्ग्रहमा विद्यार्थीहरू रुम्मिलिँदा जागरुक र जिम्मेवार नागरिक बन्न नसकेको अवस्था विद्यमान रहेको भन्दै देश र विश्वमा हुनेगरेका घटनाबारे जानकारी तथा दृष्टि तथा बोध निर्माणले व्यक्तित्वको पहिचान स्थापित हुने बताए । उनले च्याट जिपिटीले जुनसुकै समस्याको समाधान एकदुई मिनेटमै दिने बेलामा किताबी ज्ञानको मात्र महत्त्व नहुँदा कोर्सका किताबमात्र पढ्ने र परीक्षामा अङ्क ल्याउने काम पर्याप्त नभएको उल्लेख गर्दै बोल्ने, जानकारी राख्ने र सम्झाइबुझाइ गर्ने तरिका सिक्न विद्यार्थीलाई सुझाए । उनले भने, ‘तपाईँहरू कहिल्यै मेरा सर्टिफिकेट हेर्नुभएको छ ? हेर्नुभएको छैन । तर म के बोलिरहेको छु, के जानकारी दिइरहेको छु त्योचाहिँ देखिरहनुभएको छ ।’

अध्यक्ष राउतले अहिले कसरी प्लस टु उतीर्ण गर्ने र कसरी विदेश जाने भन्ने मानसिकता रहेको तर कुनै बेला कलेज जाँदा ज्ञानार्जन हुने बुझाइ तथा कलेजका विद्यार्थीमा एक किसिमको परिपक्वता रहने गरेको स्मरण गरे । उनले भने, ‘उतिबेला बिबिसी, भ्वाइस अफ अमेरिकाबाट इराकइरान युद्धका कुरा सुनेर, अल इन्डिया रेडियोबाट गीतलगायत फरमाइस कार्यक्रम सुन्ने गाउँकै मानिस थिए । उनीहरू जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्थे । तर, प्लसटु संस्कृतिबाट त्यसमा स्वाभाविक रूपमा कमी आएको छ ।’

कार्यक्रममा मधेश प्रदेशसभामा पार्टीको संसदीय दलका नेता महेशप्रसाद यादवले विद्यार्थीका गुनासा र समस्या सम्बोधन गरेर चुनावमा मत हासिल गर्न सकिने भन्दै यसका लागि जनमत संघका विद्यार्थीहरूले प्रयास गरिरहनुपर्ने बताए । विद्यार्थीका काम गरेरै आफूले जनकपुरधामको राराब क्याम्पसको स्ववियुको नेतृत्व गर्न पाएको सम्झँदै राराब क्याम्पसको स्ववियुका पूर्वसभापति यादवले विद्यार्थीसँगको सम्बन्ध, सद्भाव र समन्वयले मात्र स्ववियुमा जितको बाटो प्रशस्त गर्ने अनुभव सुनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर