टुडेवाणी संवाददाता,फगुन ०८,धनुषा – आज देखी मिथिला माध्यमिकी परिक्रमा विधिवत् रूपले सुरु भएको छ।
मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्था धरोहरको रूपमा मानिने मिथिला माध्यमिकी परिक्रमा आज सोमबार देखि सुरु भई १५ दिनसम्म चल्नेछ।
मिथिला माध्यमिकी परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका हजारौं साधुसन्त एवं श्रद्धालुहरूको सहभागिता रहने गरेको छ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत रुपमा सुरु हुने गर्दछ।
धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा सुरु हुन्छ। परिक्रमाको पहिलो दिन जनकपुरधामस्थित हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरु त्यसको भोलिपल्ट बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन्।
फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरधामको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत् सुरुवात हुने परम्परा रहेको अग्निकुण्डका महन्थले बताए।
परिक्रमामा सहभागीहरू फूलहरको गिरीजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन्।
हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०५ र भारतको २८ गरी कुल १३३ किलोमिटरको दूरीमा पैदल यात्रा गर्छन्।