LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

मधेस प्रदेश सरकारले पहिलो मधेस प्रदेश युवा महोत्सवको आयोजना गर्दै।।

टुडेवाणी,संवाददाता,जनकपुर, ८ असार । मधेस प्रदेश सरकारले पहिलो मधेस प्रदेश युवा महोत्सव आयोजना गर्न लागेको छ । यही असार १५ र १६ गते प्रदेश राजधानी जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा आयोजना हुने दुई दिवसीय प्रदेश युवा महोत्सवमा प्रदेशका १३६ वटै स्थानीय तहका करिब चार हजार युवाको सहभागिता रहने प्रदेश सरकारले जनाएको छ ।

युवा महोत्सवबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले मूलधारमा समेटिन नसकेका मधेसका युवाको सीप र दक्षतालाई परिचित गराउन र सम्भावनाका मार्गमा अभिमुखीकरण प्रदान गर्न महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।

‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवको पहिलो दिन असार १५ गते मधेस मन्थनअन्तर्गत मधेस प्रदेशमा राजनीति, उद्यान, सामाजिक कार्य, पत्रकारिता तथा सरकारी सेवाका विभिन्न क्षेत्रमा अथकरूपमा काम गरेर सकारात्मक परिवर्तन ल्याउन निरन्तर प्रयासरत उदाहरणीय युवाका कथा सुन्ने र संवाद गर्ने कार्यक्रम तय भएको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव ठूलोबाबु दाहालले जानकारी दिनुभयो ।

यस्तै महोत्सवको दोसो दिन मधेस प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा कार्यरत सरकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तर्क्रिया गर्ने र सोको सम्बोधन गर्न साझा प्रतिबद्धताका लागि आह्वान गर्ने उपसचिव दाहालले बताउनुभयो ।

महोत्सवमा मधेस जागरण तथा अभिमुखीकरणअन्तर्गत वित्तीय साक्षरता, उद्यमशीलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति जस्ता विषयमा अधिकतम युवालाई सहभागी गराई विज्ञबाट सहजीकरण गराइने जनाइएको छ ।

युवा उद्यमीद्वारा सञ्चालित विभिन्न उद्योग तथा उद्यमको प्रवर्द्धन गर्न स्थान उपलब्ध गराउन मधेस हटिया (स्टल प्रदर्शनी) सँगै मधेसका मौलिक संस्कृति तथा परम्परालाई स्थानीय कलाकारको अग्रसरतामा सांस्कृतिक साँझ आयोजना गरिने मन्त्रालयका उपसचिव दाहालको भनाइ थियो ।

मधेस प्रदेशमा कलाकारिता, उद्यम, राजनीति, सामाजिक कार्य, पत्रकारिता तथा सरकारी सेवालगायत विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरेका उत्कृष्ट सात संस्था तथा व्यक्तिलाई महोत्सवकै अवसरमा सम्मान गरिने र सम्मान प्राप्त गरेका संस्थाले ल्याएका परिवर्तनका बारेमा आमसञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण गरिनेसमेत मन्त्रालयले जनाएको छ ।

महोत्सवमा छलफलबाट आएका सुझावलाई समेटेर घोषणापत्र तयार पारी युवाकै सहभागितामा घोषणापत्र जारी गर्ने कार्यक्रम तय भएको उपसचिव दाहालले जानकारी दिनुभयो ।गोठलो खबर

प्रतिक्रिया
सम्बन्धित खवर