टुडेवाणी,संवाददाता,जेष्ठ ३१,दाङ :
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले आफ्ना ‘प्रेमी’ एकराज बस्नेतकी श्रीमतीलाई हातपात गरेकी छिन्।
आज बिहान ७ बजे घरमा आएर हातपात गरेको भन्दै राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदेश राज्यमन्त्री विमला वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ।
दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले मन्त्री वलीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको जानकारी दिए। ‘‘राज्यमन्त्रीज्यूलाई हामीले नियन्त्रणमा लिएका छौँ। घटनाको बारेमा अनुसन्धान भइरहेको छ,’’ एसपी काफ्लेले भने।
राज्यमन्त्री विमलाले आफ्नो घरमा आएर एकराजलाई आफ्नो श्रीमान् दाबी गरेको एकराजकी पत्नी मीना भण्डारीले बताइन्। आफू र आफ्नी ६ वर्षकी छोरीलाई उनले हातपात गरेको मीनाको आरोप छ। घटना हुँदा एकराज घरमा थिएनन्।
आफूमाथि आक्रमण भएपछि मीनाले प्रहरी बोलाएकी थिइन्। इप्रका तुलसीपुरको प्रहरी आएर एकराजको कोठाबाट विमलालाई नियन्त्रणमा लिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।
राज्यमन्त्री विमलाका दुई छोरा छन्। विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा निधन भएको थियो।