टुडेवाणी,सलिना मगर,जेष्ठ ३१,रौतह:रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित रौतहट सर्लाही सीमामा पर्ने बागमती नदीमा गिट्टीबालुवा चालेर जीविका चलाउने मजदुरहरू यतिखेर तनावमा खेपिरहेका छन। बर्खा लागेपछि वाग्मतीमा आउने बाढीका कारण उनीहरूको आयआर्जन ठप्प हुने गरेको छ । यही कारण धेरै मजदुरहरूलाई खानकै धौधौ पर्ने गर्छ ।
विगत १० वर्षदेखि बागमती नदीमा गिट्टी चाल्दै आएका चन्द्रपुर १ मंगलपुरका गजेन्द्र सहनीलाई वर्षाका बेला रोजगारी गुम्ने चिन्ताले सताएको छ। केही दिनदेखिको वर्षाले बागमतीमा समान्य बाढी आएको हुनाले, बगर छेउसम्म पानी आएकाले गिट्टीबालुवा संकलन बन्द भएको छ । २७ वर्षीय गजेन्द्र बिहान सधैंजसो बगर पुग्थे । श्रीमती नर्मिर्ला देवी पनि साथै हुन्थिन् । चर्को गर्मीको प्रवाह नगरी बगरमा रुखको हांगाले छाएको सानो झुपडि बनाई दिनभर गिट्टी चाल्थे । ‘अब बर्खा सुरु भयो । अन्यत्र काम गर्न सहज छैन । बर्खा लाग्ना साथ सधैं चिन्तामा हुन्छौं,’ उनले भने, ‘५/६ महिना घरमै दुःखजिलो बस्नुपर्छ । भनेको जस्तो बाहिर काम पाउँदैन ।’ कहिलेकाहीं दिनभर लगाएर संकलन गरेको गिट्टी बाढीले बगाउने उनले सुनाए ।
बर्खा लागेपछि सहनी जस्तै धेरैको रोजीरोटी गुमेको छ । २०५० सालमा वाग्मतीमा आएको बाढीले साविक गढौ गाविसमा रहेको घर खेत बगाएपछि गजेन्द्र लगायत धेरै बिस्थापित भए । त्यस पछि चीनको चुची फाउन्डेसनले वाग्मतीको मंगलपुरमा बनाइदिएको घरमा सहनी परिवार बस्दै आएका हुन् । बगरमा चालेको गिट्टी ठेकेदारले प्रतिटिप १ हजार ५ सय रुपैयाँ तिरेर लैजान्छन ।