जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै जनप्रतिनिधिहरुले नगर प्रमुख लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका छन् ।
दीपावली नजिकिए पनि जनकपुरधाम उपमहानगरको फोहोर व्यवस्थापन नगरेको भन्दै उपमहानगरकै केही वडाध्यक्षले नगरप्रमुख साहको घर अगाडि फोहोर थुपारेका हुन् ।
फोहरमैला व्यवस्थापनका लागि डम्पिङ साइटको अभाव हुँदा जनकपुरधाम उपमहानगरभित्रको फोहोर उठ्न सकेको छैन ।
उपमहानगर भित्रका विभिन्न वडामा थुपारिएको फोहोरहरु व्यवस्थापनमा असहयोग गरेको भन्दै वडाध्यक्षहरुले नगरप्रमुख साहकै घर अगाडि फोहोर थुपारिदिएका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका–१ का वडाध्यक्ष शत्रुधन साह, ४ का वडाध्यक्ष सुदर्शन सिंह र ७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरुको टोलीले नगर प्रमुखको घर अगाडि फोहोर थुपारेको हो ।
प्रहरीले नगर प्रमुख लालकिशोर साहको घर अगाडि फोहोर फाल्न नदिएपछि उनीहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर फोहोरका गाडीसहित धर्ना दिएका छन् ।
फोहोर व्यवस्थापनका लागि नगर प्रमुख लालकिशोर साहले चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्रयाक्टरसम्म उपलब्ध नगराएको र जनताको समस्याप्रति वास्ता नराखी भ्रष्टाचारमा केन्द्रित भएको आरोप लगाउँदै वडाअध्यक्षहरु सडकमै धर्ना बसेका हुन् ।