LIVE NEWS
जेन्जी: सडकमा उठेको प्रश्नहामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोप

पिपरा गाउँपालिका वडा नं.–३ लाई बालविवाह मुक्त वडा घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा

महोत्तरी ,२८ मंसिर  — पिपरा गाउँपालिका वडा नं.–३ लाई बालविवाह मुक्त वडा घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसै सन्दर्भमा वडास्तरीय भेला सम्पन्न भएको छ, जसमा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको सहकार्यमा आयोजित उक्त भेला वडा कार्यालयको आयोजनामा सम्पन्न भएको हो। भेलामा बालविवाहका कारण, त्यसका दीर्घकालीन प्रभाव तथा रोकथामका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले विद्यालय र समुदायस्तरमा सचेतनामूलक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

भेलापछि जारी गरिएको विज्ञप्तिमा २० वर्षभन्दा कम उमेरमा गरिने विवाह मुलुकी अपराध संहिता २०७५ अनुसार कानुनी अपराध भएको स्पष्ट गरिएको छ। साथै, बालविवाहमा संलग्न व्यक्तिलाई कैद तथा जरिवानासहित कानुनी सजायको व्यवस्था रहेको जानकारी गराइएको छ।

कार्यक्रममा वक्ताहरूले बालविवाहका प्रमुख कारण सामाजिक परम्परा, गरिबी र चेतनाको अभाव रहेको उल्लेख गर्दै, समुदायमै आधारित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

वडाले बालविवाह न्यूनीकरणका लागि विद्यालयस्तरीय निबन्ध, वक्तृत्वकला, चित्रकला, नाटक, गीत–संगीत प्रतियोगिता, घरदैलो अभियान तथा सामुदायिक सभाजस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

वडा अध्यक्ष किशोरी अधिकारीले निकट भविष्यमै वडा नं.–३ लाई औपचारिक रूपमा बालविवाह मुक्त वडा घोषणा गरिने जानकारी दिइन्।

कार्यक्रम वडा अध्यक्ष किशोरी अधिकारीको अध्यक्षता तथा पिपरा गाउँपालिकाका अध्यक्ष राम जानकी यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तोष मिश्रा, वडा अध्यक्ष राजेश कुमार दास, हरि शंकर यादव, रतौली युवा क्लबका कार्यकारी निर्देशक बैदनाथ चौधरी, सेभ द चिल्ड्रेनको प्रतिनिधि सरिता यादव, इलाका प्रहरी कार्यालय सहोरवाका वरिष्ठ सई राम विनयबैठा, महिला तथा बालबालिका शाखा प्रमुख रचना झा, वडा सदस्यहरू, फिल्ड सुपरभाइजर शम्भु कुमार साह, स्थानीय विद्यालयका विद्यार्थी, अभिभावक, महिला समूह, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर