LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

आज जनै पूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै

जनकपुरधाम श्रावण २४: प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन र जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर परम्परागत विधिपूर्वक मनाइँदै छ। यस दिन वैदिक सनातन धर्मावलम्बीहरूले नदी, ताल, तलाउ वा पोखरीमा स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने र नव यज्ञोपवीत (नयाँ जनै) धारण गर्ने गर्दछन्।

रक्षाबन्धनको पौराणिक कथा
पौराणिक मान्यता अनुसार, सत्ययुगमा दानवहरूबाट सताइएका देवगणलाई गुरु बृहस्पतिले रक्षासूत्र बाँधेर सुरक्षित राखेका थिए। उनले महाबली दानवराज बली लाई बाँधिएको उदाहरण दिँदै देवगणलाई पनि त्यसैगरी रक्षासूत्र बाँधेर सुरक्षित बनाएको विश्वास गरिन्छ। यही परम्परालाई निरन्तरता दिँदै अहिले पनि गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा…’ भन्ने मन्त्र उच्चारण गर्दै यजमानको दाहिने नाडीमा रक्षासूत्र बाँधिदिन्छन्। यो सूत्रले नकारात्मक तत्वहरूबाट सुरक्षा प्रदान गर्ने धार्मिक विश्वास रहेको छ।

जनै पूर्णिमा (ऋषि तर्पणी)
यस दिन ब्राह्मण, क्षत्री र वैश्य समुदायका तागाधारीहरूले आफ्नो पुरानो जनै (यज्ञोपवीत) फेरेर नयाँ जनै धारण गर्छन्। यसका लागि उनीहरूले श्रावण शुक्ल चतुर्दशीदेखि नै शुद्ध भई व्रत बस्ने गर्छन्। पूर्णिमाको बिहान पोखरी, नदी वा कुण्डमा गई गोबर, खरानी र सप्तमृत्तिकाले स्नान गरेर श्रावणी स्नान गर्दछन्। स्नानपछि जौ, तिल र कुश प्रयोग गरी आठ ऋषिलाई (अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य) तर्पण दिइन्छ। यी ऋषिहरूको पूजा र तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ। वैदिक गुरु परम्परामा जनैलाई ब्रह्मसूत्र वा ज्ञानको धागो पनि भनिन्छ।

क्वाँटीको महत्त्व र तराईको राखी पर्व
जनै पूर्णिमाका दिन ११ प्रकारका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने प्रचलन छ। आयुर्वेदिक मान्यता अनुसार, क्वाँटी खाँदा शरीरको रोग प्रतिरोधी क्षमता बढ्छ, पेट सफा हुन्छ र वर्षायाममा लागेको चिसो हटाएर शरीरमा ताप सञ्चार हुन्छ।
नेपालको तराई क्षेत्रमा भने आजको दिनलाई राखी पर्वका रूपमा मनाइन्छ। यस दिन दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर उनीहरूको दीर्घायु र प्रगतिको कामना गर्छन्। यसले दिदीबहिनी र दाजुभाइको प्रेम सम्बन्धलाई थप सुमधुर बनाउने सामाजिक विश्वास रहेको छ।

पर्व मनाइने प्रमुख स्थानहरू
रक्षाबन्धन र जनै पूर्णिमाको अवसरमा पशुपतिनाथ मन्दिर, वसन्तपुरको अशोक विनायक, वाग्मती नदीको किनार र मठ मन्दिरहरूमा भक्तजनको ठूलो घुइँचो लाग्छ। यसका साथै गोसाइँकुण्ड, कुम्भेश्वर, पाँचपोखरी, जनकपुरधाम, त्रिवेणीधाम लगायतका धार्मिक स्थलहरूमा पनि मेला लाग्ने गर्दछ।

प्रतिक्रिया
सम्बन्धित खवर