टुडेवाणी,सम्बादाता,असार ८,सर्लाही :
सर्लाहीको चन्द्रनगर गाउँपालिका का नवनिर्वाचित पालिका अध्यक्ष राजकुमार महतो ले स्थानीय स्तरमा भइरहेको विकास निर्माण कार्यको छडके अनुगमन गरेको छ । अनुगमनको क्रममा पालिका भित्रका अधिकांश निर्माणाधीन योजनाहरुमा मापदण्ड विपरीत गुणस्तरहीन कार्यहरु भइरहेको पाईएको छ । कुनै पनि योजनको लागत सम्बन्धि सुचना पार्टी समेत नटाँसिइएको पाईएको चन्द्रनगर गाउँपालिकाको कार्यालयले जनाएको हो ।
अनुगमनको क्रममा चन्द्रनगर गाउँपालिका वडा न.६ मा निर्माणाधीन अवस्थामा रहेको श्री मरिचिमान सिंह माध्यमिक विद्यालय भवनको बिममा ४ वटा छड प्रयोग गर्नुपर्नेमा २ वटा मात्र प्रयोग गर्नुको साथै ढलानमा प्रयोग गरिएको गिट्टी उपयुक्त साईजकाे नरहेको पाईएको हो ।
वडा नम्बर ६ र ७ नाढीमन ताल स्थित बनिरहेका नाला निर्माणको अनुगमन गर्दा ढलानमा गिट्टी, बालुवा र सिमेन्टको उचित मिसावट नहुदा निर्माण कार्य नसकिदै ढलान हातले नै उकिरहेको पाईएको हो ।
चन्द्रनगर गाउपालिका वडा न. ६ कामदमा नयाँ निर्माण भैरहेको अस्पतालको पनि निरीक्षण समेत गरेको हो ।अस्पतालको पनि लागतको सुचना पार्टी न टासिंएको पाईएको हो ।
स्थानीय निकायको विकास निर्माणका गुणस्तरमा कुनै सम्झौता नगरिने पालिका अध्यक्ष राजकुमार महतोले बताए । मापदण्ड अनुसारको गर्न र भवन निर्माण स्थलमा आयोजनाकाे लागतसहितकाे विवरण खुल्ने गरि सूचना पाटी राख्न निर्देश दिएका छन् ।
चुनाव जितेको ६ महिना भित्रमै विकासको स्वाद चखाउने प्रतिबद्धता गरेर चुनावमा होमिएका महतो चुनाव जिते लगत्तै गाउँपालिका भित्रका विभिन्न सेवा निकायमा लथालिङ्ग रहेका कार्यशैलीलाई परिवर्तन गरि सम्बन्धित निकायमा सेवा लिन जाने जनताका लागि सहज र सरल वातावरण निर्माण गरे ।
वितेको समयमा जिल्लाका अधिकांश पालिका प्रमुखले सडक तथा भवन निर्माण गरि विकासको दाबी गरेपनी आफु शिक्षा, स्वास्थको साथै आर्थिक , सामजिक तथा मानव विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने बताए ।
आम नागरिकहरु विश्वव्यापी आर्थिक, सामाजिक तथा मानव संकटबाट गुजि्ररहेका कारण उनीहरुको जिवनस्तर उकास्न, रोजगारी ग्यारेन्टी गर्न कलकारखाना निर्माणका लागि प्रोत्साहन गरिने, सिपमुलक तालिमको साथै स्थानीय स्तरमा प्राविधिक कलेज स्थापना र भएको कलेजको उचित व्यवस्थापनमा महतोले जोड दिए । २० वटै पालिका भन्दा फरक ढङ्गले काम गरेर जनतालाई महसुसु हुने गरि विकास गरिने प्रतिबद्धता समेत गरे ।
पालिका अध्यक्ष महताेसहित प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष, सदस्य र इन्जिनियर सहितको प्राविधिक टोलिले पालिका भित्रका निर्माणाधीन योजनाहरुको अनुगमनका गरेका थिए ।