सर्लाही,असाढ ४
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ बस्ने बोनी ट्रेडर्स समेतका संचालक शिवनाथ प्रसादको नाममा नेपाल बैंक लिमिटेड मलंगवा शाखामा रहेको खाताबाट एकैदिन फरक फरक समयमा गरि १ लाख ७८ हजार ३४० रुपैयाँ चोरी भएको घटनाको ३ महिना भन्दाबढी भइसक्दा पनि उक्त रकम र दोषी पत्ता लगाउन बैंकले कुनै पनि किसिमको चासो नलिएको पिडितले गुनासो गरेको छ।
आफुले खाताबाट पैसा नझिक्दा पनि रकम हराएको जानकारी पाए लगत्तै नेबैली मलंगवा शाखा प्रबन्धक शम्भु ठाकुरलाई सो कुराको जानकारी गराइ खाताबाट चोरी भएको रकम तुरुन्त खातामा जम्मा गराई दिन भन्दै नेबैली मलंगवा शाखामा लिखित निवेदन दिइसकेको साथै रकम निकाल्ने ब्यक्तिको बारेमा छानबिन गरि चोरी भएको रकम उपलब्ध गराइ दोषीलाई कानुन बमोजिम कार्यवाही गर्न भनि जिल्ला प्रहरी कार्यालय मलंगवामा समेत लिखित उजुरी दिइसकेको शिवनाथले बताएका छन् ।जिल्ला प्रहरी कार्यालयले उक्त रकम र दोषी पत्ता लगाउन आफ्नो स्तरबाट सकृयताका साथ लागेको भएपनि नेबैली मलंगवा शाखाले भने यस किसिमको घटनालाई गम्भीरता पुर्वक नलिइ समस्या समाधान तर्फ कुनै चासो नदेखाएको पिडित बोनी ट्रेडर्सका संचालक शिवनाथको आरोप छ।
नेबैली मलंगवा शाखाका शाखा प्रबन्धक ठाकुरलाई खाताबाट रकम हराएको भन्दै लिखित रुपमा जानकारी गराइसके पश्चात् रकम फिर्ता गराइदिनको लागि पटकपटक ताकेता गर्दा उनले त्यसतर्फ ध्यान नदिइ उल्टै आफुलाईनै दोषी ठर्याउँदै आएको शिवनाथले गुनासो गरेका छन् । उनले बैंकमा जम्मा भएको रकम बैंकबाटै हराउँदा सम्बन्धित बैंक नै त्यसको पहिलो जिम्मेवार हुनुपर्ने भन्दै बैंकले प्रहरीतिर समस्या पन्छाउनुभन्दा समस्या समाधानका लागि संयुक्त पहल गर्नुपर्ने देखिएको बताए ।
उता यस विषयमा नेबैली मलंगवा शाखाका शाखा प्रबन्धक ठाकुरसँग बुझ्दा उनले यसअघि हाम्रो शाखाबाट यस किसिमको घटना एकपटक पनि नभएकोेले हामी यसलाई गम्भीरताका साथ लिएको बताए। खाताधारी शिवनाथले मोबाइल बैंकिङ मार्फत आफ्नो रकम हराएको भन्दै निवेदन दिएको दिनदेखिनै यस विषयमा अनुसंधान गरिरहेका छौ। हामीले रकम हराएको भन्ने जानकारी पाउने बित्तिकै हेड अफिसमा जानकारी गराएको र हेड अफिसले पनि “फोन पे” कम्पनीलाई छानबिनको लागि भनिसकेको र उक्त कम्पनीले पनि सम्बन्धित ठाउँहरुमा जानकारी पठाइ सकेको उनले बताए ।धेरै ठाउँमा खाता रोक्का समेत गरिसकिएको छ।यो एउटा गम्भीर विषय भएकोले यस सम्बन्धि राष्ट्र बैंकले पनि वृहत् रुपमा छानबिन गरिरहेको र छानबिन प्रक्रिया धेरै अगाडी बढी सकेको शाखा प्रबन्धक ठाकुरले जानकारी दिए।छानबिनको लागि बैंकबाट सम्पूर्ण डकुमेन्ट्सहरु प्रहरी कार्यालय मलंगवालाई पठाइसकेको साथै जिप्रकाले बोलाउँदा स्वयं उपस्थित भएर अनुसंधानमा सहयोग पुर्याउँदै आएको शाखा प्रबन्धक ठाकुरले बताए।
उनले काममा समय लागिरहेकोले ढिलाइ भएको स्विकार्दै समय लागेपनि काम हुने आश्वासन दिएको छ।
पछिल्लो समय इन्टरनेट को माध्यमबाट हुने अपराधहरु बढिरहेका छन् । पछिल्लो समय सेवा दिने प्रतिष्पर्धाको नाममा बैंकहरुले मोबाइल बैंकिङ सेवा दिदै आएका छन् । तर सेवा दिने अनि सेवा लिने सुरक्षाको विधि बैंकहरु र स्वयं सेवाग्राहीहरुले पनि राम्रोसँग जानकारी नपनाउँदा विभिन्न अपराधिक घटनाहरु बढीरहेका छन् ।