सलिना मगर,सर्लाही,जेष्ठ ३: सर्लाही बरहथवा नगरपालिका १७ मा आज (मंगलबार) पुनः मतदान हुँदैछ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरे अनुसार आज बिहान ७ बजेबाट मतदान सुरु भएको बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिनु भएको छ।
देशैभर स्थानिय निकायको निर्वाचन बैशाख ३० गते एकैसाथ भएता पनि केही स्थानमाहरुमा विवाद भएपछि मतदान कार्य स्थगित गरिएको थियो। जस मध्य बरहथवा नगरपालिका १७ को श्रीपुर पनि रहेको र आज सो वडामा मतदान हुदै गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिनुभयो ।
जनता समाजवादी पार्टी(जसपा)पक्षले आफू पक्षीय मतदातालाई बिहानै मतदान गर्न लगाएका र मध्यान्हबाट भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको आरोप सहित नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेदवारहरुले पुनः मतदानको माग गर्दै उजुरी दिएपछि आयोगले पुनः मतदान गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले जानकारी दिनु भयो ।
वडा नं. १७ को आधारभूत विद्यालय परोरिया मतदान स्थल अन्तर्गत २ वटा मतदान केन्द्रमा जम्मा १ हजार ९ सय ५४ मतदाता भएपनि त्यहाँ शुक्रबार साँझसम्म ३ सय ७२ मत मात्र खसेको थियो । सो वडाको मतदान नभएका कारण मतगणना कार्य रोकिएको छ ।