जनकपुरधाम : गठबन्धनबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी हुने सहमति भइसकेको छ ।
सत्तासीन दलहरुको गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी(जसपा)लाई दिएको छ । उपमेयर कांग्रेसको भागमा परेको छ । जसपाले मेयरमा पुरुषलाई नै उम्मेदवार बनाउने निश्चित छ । यद्यपि उम्मेदवारको औपचारिक रुपमा टुंगो लागिसकेको छैन् ।
नेपाली कांग्रेसले पाएको उपमेयरमा पनि पुरुष नै उम्मेदवार हुने संभावना बलियो छ । कांग्रेसबाट पूर्ब मेयर किशोरी साहको टिकट पाउने संभावना बढेको छ ।उनी उपमेयर भए पनि आर्थिक रुपमा अत्यन्त कमजोर नै छन् । कांग्रेसको भागमा मेयर नपरेपछि पुरुषबाट नै उपमेयर दिने तयारी भएकोछ ।
मेयरका प्रत्याशी रहेका मनोज कुमार साह ओझेलमा परेका छन् । किशोरी साहलाई टिकट दिनुपर्ने दबाब नेता विमलेन्द्र निधिमाथि बढन थालेको छ । स्रोतहरुका अनुसार नेता निधिले आफ्ना निकट सहयोगीहरुसित छलफल थालेका छन् । कानून बमोजिम मेयर अथवा उपमेयर मध्ये एकजना महिला अनिवार्य हुनुपर्छ ।
तर त्यो एउटै दलले मेयर र उपमेयर उठाएमा मात्र लागू हुनेछ । दुई फरक दलले उम्मेदवार उठाए त्यसमा महिला अनिवार्य नहुने तर्क रहेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट जसपाले मेयरमा पुरुष र कांग्रेसले उपमेयरमा पनि पुरुषलाई नै उम्मेदवार बनाउने भएको छ । उपमहानगरपालिकाको कांग्रेस समितिले उपमेयरका लागि इन्दिरा चौधरी, रुना झा र शान्ति विष्ट घिमिरेको नाम सिफारिस गरेको छ । उपमेयरका लागि पुरुषको नाम सिफारिस नभए पनि टिकट पाउनेमा पुरुष नै अगाडि देखिएको छ । जसपाले पनि उपमेयरमा ममता मण्डललाई उम्मेदवार बनाउन चाहेको थियो । तर उपमेयर कांग्रेसको भागमा परेपछि मण्डलको चर्चा सेलाएको छ ।
यसैगरी एमाले र लोसपाको गठबन्धनलेपनि मेयर र उपमेयर दुबैमा पुरुषलाई नै उठाउने संभावना छ । उच्चस्रोतका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको मेयर लोसपाको भागमा परेको छ ।प्रदेश सभासदस्य परमेश्वर साहलाई लोसपाले मेयरमा उतार्ने तयारी गरेको छ ।उपमेयरमा एमालेले जानकीराम साहलाई टिकट दिने संभावना छ । हालै उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको ग्यारेजमा पार्टी प्रवेश गरेका थिए ।मेयरको आकांक्षी रहेका साहलाई उपमेयरमा टिकट दिन लविंग भएको छ ।एमालेबाट मेयरको उम्मेदवारका रुपमा रघुवीर महासेठ पक्षधर हिरा साहले प्रचार थालिसकेका छन् ।
उनले आफूले नै टिकट पाउने निश्चित रहेको विश्वास दिलाउन घरदैलोमा लागेको बताइन्छ । वीरगञ्ज महानगरको मेयर एमालेलाई र उपमेयर लोसपालाई दिने सहमतिमा साक्षी बसेका महासेठले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा लोसपा र उपमेयरमा एमालेले लिने सहमति गरेका छन् ।एमालेले उपमेयर लिने भएसँगै महासेठ इतर पक्षले जानकीराम साहलाई उपमेयरमा अगाडि सारेको छ ।
यस अघि लोसपा अध्यक्ष महन्थ ठाकुरले उपमेयरका लागि चुनावी तयारीमा लाग्न वर्तमान उपमेयर रीता झालाई निर्देशन दिएका थिए ।त्यस अनुसार उनी चुनावी प्रचारमा जुटेकी थिइन् ।तर उपमेयर एमालेको भागमा परेपछि झा निराश भएकी छन् । लोसपाबाट उपमेयरका आकांक्षी नेतृहरु रीता झा, विभा ठाकुर लगायतले मुख त खोलेका छैनन् ।तर आन्तरिक रुपमा निराश भएका छन् । सत्तासीन गठबन्धनले मेयर र उपमेयरको टुंगो लगाए पनि एमाले र लोसपा गठबन्धनले टुंग्याउन सकेको छैन् ।
एमालेको भन्दा पनि लोसपाको अवस्था कमजोर देखिएको छ ।एमालेले १० गते शनिवार मात्र उम्मेदवारहरुको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ । विहीबार बसेको सचिवालयको बैठकले महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको नाम शनिवार सार्वजनिक गर्ने निर्णय गरेको छ । लोसपाबाट मेयरको टिकट लिन प्रदेश सभा सदस्य परमेश्वर साह काठमाण्डु पुगेका छन् । स्रोत : जनकपुर टुडे