टुड वाणी, डेस्क,बैशाख ४ काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई वैशाख ९ देखि सञ्चालन हुने भएको छ ।
कोरोना महामारीका कारण बिगत दुई वर्षदेखि हुन नसकेको एसईई वैशाख ९ देखि सञ्चालन हुने भएको छ । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६/२०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।
यसपालि भने बोर्डले तयार गरेको प्रश्नपत्रको आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुने बोर्डले जनाएको छ । परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना बिद्यार्थी सहभागी हुनेछन् ।
परीक्षामा देशभरका ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीहरु सहभागी हुनेभएको छ।
नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुनेछन्।
गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेड वृद्धिको अवसर दिइएको थिएन । प्राविधिक धारमा कक्षा सञ्चालन गरिरहेका मुलुकभरका २ सय ९९ वटा विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थीले पनि एसईई दिँदै छन् ।
प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाए । ‘प्रश्नपत्र केन्द्रले तयार पारेर जिल्लामा पठाएको छ, परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षणको काम प्रदेशको समन्वयमा हुन्छ। उनले भने,प्रदेशले विद्यार्थीको प्राप्तांक पठाएपछि रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्छ ।