LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

पदाधिकारीमा देउवाको बहुमत

काठमाडौं । कांग्रेस १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट कांग्रेसको केन्द्रीय समितिमा पदाधिकारीतर्फ शेरबहादुर देउवाको बहुमत देखिएको छ ।

उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा निर्वाचित बनेका ६ जना नेता देउवा समूहबाट उम्मेदवार बनेर निर्वाचित बनेका हुन् । तर, महामन्त्रीमा भने देउवा समूहबाट उम्मेदवार बनेका डा. प्रकाशसरण महत र प्रदीप पौडेल दुवै जना पराजित बने ।

सहमहामन्त्रीहरूमा महालक्ष्मी उपाध्याय, भिष्मराज आङ्दाम्बे, फरमुल्लाह मन्सुर, किशोरसिंह राठौर, उमाकान्त चौधरी र महेन्द्र यादव गरी आठ जना देउवा समूहबाट उम्मेदवार बन्दै निर्वाचित भएका हुन् । चौधरी कृष्ण सिटौला समूहका भए पनि महाधिवेशनमा सहकार्य भएको थियो ।

यसरी हेर्दा कांग्रेसको १३ पदाधिकारीमध्ये देउवा समूहतर्फका मात्रै आठ जना केन्द्रीय समितिमा निर्वाचित बनेका छन् । कांग्रेसले महासमिति बैठकबाट आफ्नो विधानमा संशोधन गर्दै पदाधिकारीको संख्या १३ पु¥याएको थियो । संशोधित विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको व्यवस्था छ ।

यसअघि भने एक सभापति, दुई उपसभापति मनोनीत, महामन्त्री एक निर्वाचित र एक मनोनीत गरी दुई जना र सहमहामन्त्री एक जना रहने व्यवस्था थियो । तर, देउवाले सहमहामन्त्रीमा एउटा संख्या थपेर सुनिल थापालाई मनोनीत गरी ल्याएका थिए ।

कांग्रेस विधानमा कोषाध्यक्ष पनि पदाधिकारीमा रहने व्यवस्था छ । तर, सो पद निर्वाचित केन्द्रीय सदस्यमध्येबाट पूर्ति गर्ने सुविधा विधानले सभापतिलाई दिएको छ ।

हालै सम्पन्न महाधिवेशनमार्फत कांग्रेसको देउवा टिममा उपसभापतिमा खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीहरूमा महालक्ष्मी उपाध्याय, भिष्मराज आङ्दम्बे, जीवन परियार, फरमुल्लाह मन्सुर, किशोरसिंह राठौर, बद्री पाण्डे, उमाकान्त चौधरी र महेन्द्र यादव गरी १३ जना निर्वाचित बनेका छन् ।

उपसभापतिमा निर्वाचित बनेका खड्का देउवा टिमका निर्णयकर्ता मानिन्छन् । उनी हरेकजसो महत्वपूर्ण निर्णयमा देउवाको मुख्य सहयोगीका रूपमा देखिँदै आइरहेका छन् । महामन्त्रीमा निर्वाचित शर्मा पनि प्रवक्ताका रूपमा देउवा टिममा नै थिए । तर, महाधिवेशनअघि भने उनी प्रकाशमान सिंहको समूहबाट उम्मेदवार बनेका हुन् ।

यसैगरी, महामन्त्रीमा निर्वाचित थापा र शर्मा आम कांग्रेस कार्यकर्ताले भरोसा र विश्वास गरेका दुई पात्र हुन् । उनीहरू दुवैले १४औं महाधिवेशनमा पार्टीलाई रूपान्तरण गर्ने एजेन्डा अघि सारेका थिए । थापा डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार बन्दै निर्वाचित भए ।

शेखर टिमबाट पदाधिकारीमा चार जना
नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदमा पाँच आकांक्षी मैदानमा उत्रिए । तर, मुख्य प्रतिस्पर्धा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच भयो । मत परिणामबाट कोइरालाले पराजय बेहोर्दा देउवाले भने जिते ।

अहिले कोइराला समूहबाट उम्मेदवार बनेका धेरै नेताको कांग्रेस केन्द्रीय समितिमा इन्ट्री भएको छ । उपसभापतिमा कोइराला समूहका धनराज गुरुङ छन् । यस्तै, महामन्त्रीमा गगन थापा निर्वाचित भए भने सहमहामन्त्रीतर्फ दलित समूहमा जीवन परियार र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे निर्वाचित बनेका छन् ।

आठ सहमहामन्त्रीमा को को ?
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फ आठ जना निर्वाचित बनेका छन् । कांग्रेसले सहमहामन्त्रीतर्फ संविधानले तोकेको समावेशी व्यवस्थाअनुसार केन्द्रीय समितिमा आठ पद राखेको थियो ।

जसअनुसार खस आर्यतर्फ किशोरसिंह राठौर २ हजार ५ सय ७६ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी देवराज चालिसेले भने २ हजार ५९ मत ल्याएर पराजित भए ।

यसैगरी, मुस्लिम समूहतर्फ फरमुल्लाह मन्सुर विजयी भएका छन् । उनले प्रतिस्पर्धी शेख वकिललाई पराजित गरेका हुन् । मन्सुरले २ हजार ७ सय ७६ मत पाउँदा वकिलले १ हजार ८ सय ७१ मत पाए ।

यसैगरी, पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित बनेका छन् । पाण्डे २ हजार ९ मत ल्याउँदै विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका जीवनबहादुर शाहीले भने १ हजार ८ सय ५२ मत मात्रै पाएका छन् । अर्का उम्मेदवार चेतराज बजालले ७५ मत पाएका छन् ।

यसैगरी, थारू समूहतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित बने भने उनीसँग तेजुलाल चौधरी पराजित भए । उमाकान्त २ हजार ७ सय ५६ मत ल्याउँदै निर्वाचित भएका हुन् । कृष्णप्रसाद सिटौला समूहका उनी शेरबहादुर देउवासँग चुनावी तालमेल भएपछि उम्मेदवार बनेका थिए । थारू समूहबाट सहमहामन्त्रीका अर्का उम्मेदवार तेजुलालले भने १ हजार ८ सय ७७ मत प्राप्त गरे । तेजुलाल कोइरालाको समूहका उम्मेदवार हुन् ।

यसैगरी, मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित बन्दा रामकृष्ण यादव भने पराजित बन्न पुगे । महेन्द्रले २ हजार ३ सय ३० मत ल्याउँदै मधेसी समूहतर्फबाट सहमहामन्त्रीमा निर्वाचित बनेका हुन् । उनीसँगै मैदानमा उत्रिएका रामकृष्णले भने १ हजार ८ सय २० र रञ्जित कर्णले ४ सय ७२ मात मात्रै ल्याए ।

यसअघि बिहीबार राति आएको परिणामबाट नै सहमहामन्त्री पदमा तीन जना निर्वाचित भइसकेका छन् । बिहीबार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय, जनजातितर्फ भीष्मराज आङ्दाम्बे र जनजातितर्फ जीवन परियार निर्वाचित भएका थिए ।

उपाध्यायले २ हजार ५ सय ३३ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिस्पर्धी कमला पन्तले २ हजार १ सय ५ मत प्राप्त गरिन् । यस्तै, आङ्दाम्बेले २ हजार ७ सय ११ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी विकास लामाले १ हजार ९ सय १३ मत प्राप्त गरेका थिए । यस्तै, परियारले २ हजार २ सय १२ मत पाए भने मानबहादुर विश्वकर्मा २ हजार १ सय ७५ मत ल्याउँदै पराजित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर