LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

२ हजार ३ सय कर्मचारी परिचालन गरेर मतदाता नामावली संकलन गर्दै आयोग

काठमाडौँ — निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि अभियान सञ्चचालन गर्ने भएको छ । आयोगले स्थानीय तहका पदाधिकारीहरुको पदावधि समाप्त हुन लागेको र कानुनी व्यवस्था बमोजिम समयमा नै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले निर्वाचनको मिति घोषणा हुनु अगावै मतदाता नामावलीमा नाम दर्ता गराउन अभियान सञ्चालन गर्ने भएको हो ।

आयोगले हाल योग्यता पुगेका कोही पनि नेपाली नागरिक मताधिकारबाट वञ्चित हुन नपरोस भनी नियमित रुपमा नामावली संकलनको पहुँचमा नरहेका ६३७ वटा स्थानीय तहमा नामावली संकलन गर्ने अभियान सञ्चालन गर्न लागेको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले ७७ वटै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयहरु तथा विभिन्न ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गर्ने गरेको छ । तर, कोभिड-१९ का कारण उत्पन्न परिस्थितिले निरन्तर नामावली संकलन गर्न नसक्दा धेरै नागरिकको छुट भएको हुन सक्ने भन्दै आयोगले नियमित नाम दर्ता गर्ने कार्यालयहरु नभएका ६३७ स्थानीय तहमा मंसिर १७ गते देखि विशेष अभियान सञ्चालन गर्न लागेको हो ।

आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म मतदाता नामावली संकलन कार्य हुनेछ । त्यस्तै, तराई, भित्री मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ । मतदाता नामावली ऐन, २०७३ बमोजिम नामावली संकलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरूको मतदाता नामावलीको विवरण संकलन कार्य हुनेछ । यस्तै, आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूको पनि नाम मतदाता नामावलीमा समावेश गरिनेछ ।

सो अभियानमा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्षरुपमा परिचालित हुने आयोगले जनाएको छ । पुस २० गतेभित्र नामावली संकलन कार्य पूरा भइसक्नेछ ।

२०७७ पुस ५ गते १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूलाई समावेश गरी हाल देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता कायम छन् । यो अभियानबाट देशभर करिब १० लाख मतदाता थप हुने अनुमान गरिएको आयोगले जनाएको छ ।

प्रकाशित : मंसिर ६, २०७८ १७:३८

प्रतिक्रिया
सम्बन्धित खवर