१ मंसिर, काठमाडौं । सरकारले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न सुरु गरेको छ ।
राहदानी विभागको त्रिपुरेश्वरथित नयाँ भवनमा आज दिउँसो २ बजे आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले ई-पासपोर्ट सार्वजनिक गर्दैछन् ।
ई-पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा हाल प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले ई-पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ ।
अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको छ । अब ई-पासपोर्ट वितरण सुरु हुने विभागका प्रवक्ता शरदराज आरणले जानकारी दिए ।
विभागले मंसिर १ गतेदेखि आंशिक रुपमा शुरु हुने ई-पासपोर्ट वितरण एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना बनाएको प्रवक्ता शरदराज आरणले जानकारी दिए । ‘शुरुआतका केही दिन हामी दैनिक सीमित मात्रै ई-पासपोर्ट वितरण गर्छौं,’ प्रवक्ता आरणले भने, ‘पूर्ण रुपमा ई-पासपोर्ट वितरण नभइन्जेल विभागले अत्यावश्यक परेर वा स्वेच्छिक रुपमा बनाउन चाहानेलाई एमआरपी पनि वितरण पनि गरिरहन्छ ।’
एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले शुरुआतमा दुबै खालका पासपोर्ट वितरण गर्ने तयारी गरेको हो ।
सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटी’सँग ई-पासपोर्ट छपाइको लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार १० महिनाभित्र कम्पनीले ई-पासपोर्टको वितरणका लागि सबै काम सकाउनुपर्ने थियो । विभागले लक्ष्यअनुसार नै समयमै काम सकेको छ ।
ई पासपोर्टमा राष्ट्रपतिको कार्यालय शितल निवासदेखि इलामको चिया बगानसम्मका तस्वीरहरू राखिएका छन् ।