महोत्तरी। प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश स्तरीय मिडिया काउन्सिल, आमसञ्चार प्राधिकरण र चलचित्र विकास वोर्डलाई विघटन गरी एउटै बनाउने प्रक्रियामा प्रदेश सरकार जुटिसकेको जानकारी दिएका छन्।
मंगलबार छठपर्वको अवसरमा समृद्धि कन्सल्टेन्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टरले महोत्तरीको औरही नगरपालिकामा आयोजना गरेको छठ तथा सामाचकेवा पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले तत्कालिन अवस्थामा गठन गरिएको तीन वटै संस्था कार्यकर्ता भर्ती गर्ने उद्देश्यले मात्र भएको र सरकारलाई आर्थिक भार थप्ने काम मात्र भएकोले तीन वटै संस्थालाई मर्ज गरि एउटा बनाउने तयारी थालिएको बताए ।
उनले आफ्नो मन्त्रालयको तर्फबाट ती संस्थाहरुलाई विघटन गरि एउटै बनाउनको लागि विधिवत रुपमा प्रक्रिया अगाडि बढाईसकेको जानकारी दिए । उनले भने, ‘प्रक्रिया अलि झन्झटिलो एवम् लामो भएकोले क्रमिक रुपमा अगाडि बढ्दा अलि समय लाग्ने भएको छ । तर प्रदेश २ को मिडिया क्षेत्रमा काम गर्नको लागि एउटा मात्र मिडिया सम्बद्ध संस्थाको आवश्यक्ता छ ।’
संचार मन्त्री साहले अहिले गठन भएको प्रेस काउन्सिल, आमसञ्चार प्राधिकरण र चलचित्र विकास वोर्डमा नियुक्त भएका सदस्यहरुमध्ये कतिपयले नक्कली योग्यताका प्रमाण पत्र एवं नक्कली नागरिकता पेश गरि नियुक्ती लिएको जनाए।
मन्त्री साहले भने, ‘यस्ता विषयमा आफूलाई थाहा हुँदा समेत ऐनकै कारण उनीहरुमाथि कारवाही प्रक्रिया अगाडि बढाउन सकेको छैन। तत्कालिन समयमा प्रदेश सरकारले बनाएको प्रदेश स्तरीय आम सञ्चार विधेयकमा सदस्यहरुको योग्यता ४ वर्षको लागि कायम गरेको छ। कुनैपनि वाहानामा ती सदस्यहरुलाई परिवर्तन गर्न नसक्ने नीति कै कारण हालको समयमा कार्यसम्पादन गर्नका लागि मन्त्रालयलाई अप्ठयारो भईरहेको छ।’
उनले प्रदेश २ का मिडियाहरुलाई समृद्ध बनाउन मिडियाको वर्गिकरण गरि लोककल्याणकारी विज्ञापनको प्रबन्ध गर्नको लागि मन्त्रालयले काम थालेको जानकारी दिए । उनले यस प्रदेशका मिडियाकर्मीहरुलाई समेत वृत्ति विकास तथा क्षमता अभिवृद्धिको लागि प्रदेश सरकारले विभिन्न योजनाहरु तयारी गरिरहेको बताए ।
प्रदेशभरिमा संचालित मिडियाहरुलाई प्रक्रिया पुर्याएर दर्ता गराई समावेशी ढंगले लोककल्याणकारी विज्ञापन उपलब्ध
गराउन आफु प्रतिवद्ध रहेको मन्त्री साहले जनाए । प्रदेश सरकार जनमुखि एवम् समाजमुखि पत्रकारितालाई सम्मान एवम् पितपत्रकारितालाई विस्थापित गर्नका निम्ति कारवाहीको दायरामा ल्याउनको लागि तयार रहेको बताए ।
उनले अहिले च्याउ उर्मे झै विना दर्ता संचालनमा रहेको अनलाईन न्युजपोर्टलहरुलाई नियन्त्रण गर्नु पर्ने आवश्यक्ता रहेको भन्दै चाडैलाई यस्ता प्रवृतिलाई रोक्न सरकारले कानुन जारी गर्ने तयारीमा रहेको बताए ।
मन्त्री साहले तराई मधेसको महापर्व छठको अवसरमा तीन दिन विदा दिनुपर्ने आवश्यकता उपर जोड दिँदैसंघीय सरकारसँग छलफल गरी अगामी दिनमा सो लागु गरिने प्रतिवद्धता जनाए।