LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

पूर्व राज्यमन्त्री संजय साहलाई ११ वर्षको कैद सजाय

टुडेवाणी,

जनकपुरधाम : उच्च अदालत जनकपुरले जनकपुर बमकाण्डमा संलग्न रहेका पूर्व राज्यमन्त्री सञ्जय साहलाई ११ वर्षको कैदको सजाय सुनाएको छ ।

विक्की दास कथबनियाले दिएको मुद्दामा बहस गर्दै धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले पूर्व राज्यमन्त्री साहलाई ११ वर्षको कैद सजाय सुनाएको हो ।

फैसलामा साहलाई ज्यान मार्ने मुद्दामा ११ वर्षको कैद र षड्यन्त्र रचेको ठहर गरिएको छ । यस अघि जिल्ला अदालत धनुषाले साहलाई मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको सजाय २०७५ सालमा सुनाएको थियो । यद्यपि उच्च अदालतले जनकपुरले ११ वर्षको कैद सजाय सुनाएको हो ।

साह हाल काठमाडौंको नख्खु कारागारमा छन् । उनी धनुषा क्षेत्र ३ बाट संविधानसभाको दुवै निर्वाचनमा विजयी भएका थिए । पहिलो पटक तत्कालीन मधेसी जनअधिकार फोरमबाट र दोस्रो पटक तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका उनलाई सांसद रहेकै बेला दिल्लीबाट पक्राउ गरी ल्याइएको थियो ।

२०६९ वैशाख १८ मा मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा बसेको धर्नालाई लक्षित गरी बम विस्फोट गराउँदा मिथिला नाट्य कला परिषदका कलाकार रञ्जु झा सहित ५ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

को हुन् संजय साह ?

कुनै समय जनकपुरधाममा ‘टकला’ डनका रूपमा परिचित साहले कबाड र ठेक्काबाट मनग्गे कमाएर संरक्षणका लागि २०६४ सालमा राजनीतिमा प्रवेश गरेका थिए ।

साबिक लोहना गाविस र हाल जनकपुरधाम उपमहानगरपालिका–४ निवासी साधु साहका छोरा सञ्जय विद्यार्थी जीवनदेखि राजनीतिमा प्रवेश गर्नेसम्म डन छवि बनाएर उक्लेका थिए । उनले कैयौं पटक सार्वजनिक अपराध र कुटपिटमा जेलनेल बिताइसकेका छन् ।

उपेन्द्र यादवको नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमबाट २०६४ साल चैत २८ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषाको क्षेत्र ४ बाट पहिलो पटक निवार्चित हुंदै राजनीतिक यात्रा सुरु गरेका थिए ।

जनकपुरमा ‘डन’को छवि बनाएका साहले सभासद्मा निर्वाचित भएलगत्तै तीन राउन्ड फायर गरेर जितको खुशी मनाएका थिए । साह सो निर्वाचनमा १३ हजार ४ सय २२ मत ल्याएर भारी मत अन्तरले तत्कालीन एमाले नेता एवं ओली नेतृत्वको सरकारका भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पराजित गरेका थिए ।

सभासद् रहेकै बेला फोरम नेपाल परित्याग गरी उनी विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा प्रवेश गरेर भौतिक पूर्वाधार राज्यमन्त्री बनेका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा राजेन्द्र महतो नेतृत्वको तत्कालिन सद्भावना पार्टीबाट नेपाली कांग्रेसका नेता रामसरोज यादवलाई हराउँदै धनुषाको क्षेत्र ४ बाट साहले १२ हजार ६ सय ६६ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका थिए । निर्वाचन सम्पन्न भएलगत्तै उनलाई सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर