टुडेवाणी,
जनकपुरधाम : उच्च अदालत जनकपुरले जनकपुर बमकाण्डमा संलग्न रहेका पूर्व राज्यमन्त्री सञ्जय साहलाई ११ वर्षको कैदको सजाय सुनाएको छ ।
विक्की दास कथबनियाले दिएको मुद्दामा बहस गर्दै धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले पूर्व राज्यमन्त्री साहलाई ११ वर्षको कैद सजाय सुनाएको हो ।
फैसलामा साहलाई ज्यान मार्ने मुद्दामा ११ वर्षको कैद र षड्यन्त्र रचेको ठहर गरिएको छ । यस अघि जिल्ला अदालत धनुषाले साहलाई मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको सजाय २०७५ सालमा सुनाएको थियो । यद्यपि उच्च अदालतले जनकपुरले ११ वर्षको कैद सजाय सुनाएको हो ।
साह हाल काठमाडौंको नख्खु कारागारमा छन् । उनी धनुषा क्षेत्र ३ बाट संविधानसभाको दुवै निर्वाचनमा विजयी भएका थिए । पहिलो पटक तत्कालीन मधेसी जनअधिकार फोरमबाट र दोस्रो पटक तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका उनलाई सांसद रहेकै बेला दिल्लीबाट पक्राउ गरी ल्याइएको थियो ।
२०६९ वैशाख १८ मा मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा बसेको धर्नालाई लक्षित गरी बम विस्फोट गराउँदा मिथिला नाट्य कला परिषदका कलाकार रञ्जु झा सहित ५ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए ।
को हुन् संजय साह ?
कुनै समय जनकपुरधाममा ‘टकला’ डनका रूपमा परिचित साहले कबाड र ठेक्काबाट मनग्गे कमाएर संरक्षणका लागि २०६४ सालमा राजनीतिमा प्रवेश गरेका थिए ।
साबिक लोहना गाविस र हाल जनकपुरधाम उपमहानगरपालिका–४ निवासी साधु साहका छोरा सञ्जय विद्यार्थी जीवनदेखि राजनीतिमा प्रवेश गर्नेसम्म डन छवि बनाएर उक्लेका थिए । उनले कैयौं पटक सार्वजनिक अपराध र कुटपिटमा जेलनेल बिताइसकेका छन् ।
उपेन्द्र यादवको नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमबाट २०६४ साल चैत २८ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषाको क्षेत्र ४ बाट पहिलो पटक निवार्चित हुंदै राजनीतिक यात्रा सुरु गरेका थिए ।
जनकपुरमा ‘डन’को छवि बनाएका साहले सभासद्मा निर्वाचित भएलगत्तै तीन राउन्ड फायर गरेर जितको खुशी मनाएका थिए । साह सो निर्वाचनमा १३ हजार ४ सय २२ मत ल्याएर भारी मत अन्तरले तत्कालीन एमाले नेता एवं ओली नेतृत्वको सरकारका भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पराजित गरेका थिए ।
सभासद् रहेकै बेला फोरम नेपाल परित्याग गरी उनी विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा प्रवेश गरेर भौतिक पूर्वाधार राज्यमन्त्री बनेका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा राजेन्द्र महतो नेतृत्वको तत्कालिन सद्भावना पार्टीबाट नेपाली कांग्रेसका नेता रामसरोज यादवलाई हराउँदै धनुषाको क्षेत्र ४ बाट साहले १२ हजार ६ सय ६६ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका थिए । निर्वाचन सम्पन्न भएलगत्तै उनलाई सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको थियो ।