टुडेवाणी, कार्तिक ६ गते ।
जनकपुरधाम । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष वरिष्ठ पत्रकार ५८ वर्षीय रामानन्दप्रसाद गुप्ताको निधन भएको छ । उच्च रक्तचापका कारण मस्तिष्कघात भएर विराटनगरको न्युरो अस्पतालमा उपचाररत उनको शुक्रबार दिउँसो निधन भएको हो।
गत बुधबार म स्तिष्क घा’ ‘त भएपछि भेन्टिलेटरमा राखेर न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको थियो। २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका वरिष्ठ पत्रकार गुप्ता नेपाल पत्रकार महासंघ सिरहा शाखाको संस्थापकसमेत थिए।
उनी नेपाल पत्रकार महासंघ सिरहा शाखाको एक कार्यकाल सभापतिसमेत बनेका थिए। उनको छापा, रेडियो, टेलिभिजन पत्रकारितामा रुचि रहेको थियो। गत असोज ६ मा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारसमेत पाएका थिए।
वरिष्ठ पत्रकार गुप्ता उपभोक्ता हकहित हित संरक्षण मञ्चको जिल्ला अध्यक्ष र अख्तियार दुरुपयोग अनुसंधान आयोगको स्थानीय नागरिक निगरानी संस्थाका सचिवसमेत रहेका थिए । उनका पत्नी, २ छोरा र १ छोरी छन् । उनको आजै अन्तिम संस्कार गरिएको परिवारजनले जनाएको छ ।