काठमाडौं। शाहरुख खानका छोरा आर्यन खान मुम्बइ क्रुज ड्रग्स पार्टी केसमा समस्याको सामना गरिरहेका छन् । २० अक्टोबरमा सेसन कोर्टले उनको जमानतको अर्जी खारेज गरिदिएको थियो । त्यसपछि आर्यन र उनको परिवारको चिन्ता बढेको छ । छोरा आर्यनलाई बचाउन प्रयासरत पिता शाहरुख खानले पनि निकै कठिनाइको सामना गरिरहेका छन् ।
शाहरुख बिहीबार छोरालाई भेट्नको लागि आर्थर रोड जेल पुगेका थिए । जेलमा यसअघि कोरोनाभाइरसका कारण सीधा अगाडि बसेर कुरा गर्न बन्द गरिएको थियो । बुधबार महाराष्ट्रका जेलहरुमा कैदीहरु र उनीहरुका परिवारलाई सामुन्ने बसेर कुरा गर्न लगाइएको प्रतिबन्ध हटाइएको थियो । प्रतिबन्ध हटेसँगै शाहरुख छोरालाई भेट्न पुगेका थिए ।
आर्यन खान विगत १४ दिनदेखि आर्थर रोड जेलमा छन् । यसअघि शाहरुखले भिडियो कलमार्फत छोरासँगै कुरा गर्न पाइरहेका थिए । २१ अक्टोबरमा आर्थरन रोड जेल गएर शाहरुखले छोरा आर्यनलाई भेटेरै कुरा गरे । यो कुराकानीको क्रममा बाबु छोराबीच सिसाको भित्तँे थियो । दुवैले इन्टरकम टेलिफोनमार्फत कुरा गरेका थिए । यो कुराकानी १६ देखि १८ मिनेट चल्यो । दुवैको साथमा जेलका अधिकारी पनि थिए ।