हेटौँडा । केही समय अघि मात्रै सूचना बैंक सञ्चालनमा ल्याएको बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बागमती कानून एप निर्माण गरेको छ ।
बागमती प्रदेश सरकारले तर्जुमा गरेका सम्पुर्ण कानूनहरु एकिकृत रुपमा मोबाईल एप्लिकेसनको माध्यमबाट हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्न मिल्ने गरी मन्त्रालयले यस्तो एप सार्वजनिक गरेको हो । उक्त एपको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजय क्रान्ती शाक्यले सार्वजनिक गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाक्यले एप सार्वजनिकले बागमती प्रदेश सरकारले तर्जुमा गरेका सम्पुर्ण कानूनहरु एकिकृत रुपमा मोबाईल एप्लिकेसनको माध्यमबाट हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्न सहज हुने बताए । ‘यस्ता एपले सूचनाको सहज पहुँचलाई थप सहज हुन्छ’, शाक्यले भनिन्, ‘अहिलेको युग डिजिटाइजेशनको युगको हो । यो एप सार्वजनिक पनि त्यसैको अवधारण हो ।’ उनले सात वटै प्रदेशमध्ये बागमती प्रदेश यस्तो एप सार्वजनिक गर्ने पहिलो प्रदेश भएको बताए ।
‘केही समय अघि बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उद्देश्यले एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा ल्याएका थियौँ’, मन्त्री शाक्यले भने, ‘बागमती प्रदेशले सूचना प्रविधिलाई आत्मसाथ गर्दै अघि बढिरहेको छ भन्ने यो एउटा सफल उदाहरण हो ।’
मन्त्री शाक्यले आफुले पद बहाली गरेको छोटो अवधिमै आफ्नो मन्त्रालयका बार्षिक योजनाहरु सम्पन्न गरिसकेको समेत जानकारी दिए । आफूले डिजिटल बागमती प्रदेश बनाउन खोजेको र यसै सन्दर्भमा आफ्नो मन्त्रालय अन्तर्गत रहेका विषयलाई डिजिटलाईज्ड गर्ने क्रममा सेवाग्राहीहरुको हितमा ध्यान राखी यस प्रदेशमा बनेका कानूनहरु एप र वेभसाईटमार्फत हेर्न सकिने बनाएको पनि जानकारी दिए । ‘मन्त्रालयका सवै कर्मचारीहरुको सहयोग र क्रियाशीलताले गर्दा छोटो समयमा मन्त्रालयका अधिकांश कार्यक्रमहरु करीब–करीब समाप्त भइसकेका छन्,’ उनले भने ।