जनकपुरधाम : ईस्लाम धर्मावलम्वीहरुले मोहम्मद पैगम्वरको जन्मोत्सव मनाई रहेको बेला सिरहामा एक जना बालकको मृत्यु भएको छ ।
बुधबार सिरहा जिल्लामा पैगम्बरको जन्म जयन्तीको अवसरमा निकालिएको र्यालीमा रथ भीडमा अनियन्त्रित भई बालकलाई कुल्चिेको हो । सिरहा नगरपालिका–१२ सारश्वरका ईस्लाम मियाँको १० वर्षीय छोरा जाहिद राइनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मृतक बालक रथमा सवार रहेको बेला रथवाट लडेर किचिएर ज्यान गएको जिप्रका सिरहाले जानकारी दिएका छन् । रथबाट लडेर रथकको पाँग्रामा किचिएर गम्भीर घाईते भएका बालक राईनको सिरहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले घटना पछि रथलाई नियन्त्रणमा लिएको छ भने चालक फरार भएको बुझिएको छ । यता, ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्मजयन्ती (मोहम्मद डे) को अवसरमा जनकपुरमा पनि र्याली निकालेको छ । ईस्लामिक महिना रविउलऔएलको १२ तारिकका बिहान हजरत पैगम्बर मोहम्मदको जन्म संसारकै मुस्लिमहरुको पवित्र स्थल मानिने खाडी मुलुक सउदी अरबको मक्का मदिनमा भएको थियो । सो क्रममा बुधवार धनुषा जिल्लाका गाउँबाट मुस्लिम समुदाय जनकपुरधाममा र्यालीको आयोजना गरेका गरेको हो ।
र्यालीमा मुस्लिम आयोगमा अध्यक्ष समिम अन्सारी, ईस्लाम धर्मगुरु तथा मुस्लिम समुदायका व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । जनकपुर उपमहानगरपालिका–७ स्थित बसपार्क चोबाट निकालिएको र्याली जनकपुरको विभिन्न चोकको परिक्रमा गरी पुनः बसपार्क चोक पुगि सम्पन्न भएको थियो । मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायले विभिन्न धार्मिक कार्यहरु मिलाज, फतिया, कुरयानखानि लगायतका धार्मिक कार्यहरु गर्ने गर्छन् ।
हजरत मोहम्मदले आफ्नो जीवनको सम्पुर्ण लक्ष्य समाज सुधार र व्यवहारिक धर्मको प्रचारप्रसारमा केन्द्रित गरेका थिए । समाजमा रहेका रुढिबादी सोच, परम्परा, अन्धविश्वास र विकृतिहरुको विरुद्ध उनी ठुलै संघर्ष गरेका थिए ।