धर्मेन्द्र कुमार कुर्मी,विजयनगर,असार ११ कपिलवस्तु:
जिल्लाको शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ५३ करोड ९० लाख २२ हजार बराबरको बजेट विनियोजन गरेको छ । सातौं गाउँसभामा उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले उक्त बरारबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सोमध्ये चालु प्रशासनिक खर्च ९ करोड पुँजीगत खर्च २२ करोड ९६ लाख २२ हजार र वित्तीय व्यवस्था अर्थात सशर्त अनुदान २१ करोड ९४ लाख रहेको छ । सो अवसरमा गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम सर्वसम्मतले पास भएको थियो ।
अध्यक्ष चौधरीले मावि तहमा अध्ययनरत छात्राहरुको लागि निःशुल्क साइकल वितरण, गर्भवती सुत्केरी महिलाहरुलाई अध्यक्ष कोशेली कार्यक्रम जस्ता कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।
साथै अध्यक्ष चौधरीले कृषि, पशु, स्वास्थ्य शिक्षा, वन वातावरण, पर्यटन जस्ता क्षेत्रमा पनि उल्लेखनीय नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।
प्रशासन शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेको संचालनमा सम्पन्न सभामा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले पेश गरेका विभिन्न निर्णय पारित गर्दैसभा सम्पन्न भएको छ ।