सलिना मगर ,जेष्ठ २६,बिहिवार:
बीस वर्ष पूरा भई १२ कक्षा पास गरेर मात्र बिहे गरेमा प्रोत्साहन स्वरूप ५० हजार रूपैयाँ दिने निर्णय गरेको चन्द्रनगर गाउँपालिकाले थप अध्ययनका लागि सहयोगार्थ ११ हजार रूपैयाँ दिने निर्णय गरेको हो।
उक्त निर्णय बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले गरेको हो। ५० हजार अनुदान प्राप्त गरेका छोरीहरूले स्नातक तह अध्ययन गर्न कुनै क्याम्पसमा भर्ना भएको प्रमाण लिई गाउँपालिका कार्यालयमा निवेदन दिएमा अध्ययन गर्न सो रकम दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए।
उनका अनुसार नयाँ आर्थिक वर्षमा गाउँसभाबाट अनुमोदन उक्त निर्णय आगामी साउन १ गतेदेखि लागू हुनेछ।
‘छोरीहरूलाई पढाइमा प्रोत्साहन गरी बालविवाह र भागी विवाह नियन्त्रण गर्न रकम दिने निर्णय गरिएको हो,’ अध्यक्ष महतोले भने।उनका अनुसार चन्द्रनगरमा झन्डै ७० प्रतिशत बालविवाह हुने गरेका छन्।
त्यसैगरी कार्यपालिका बैठकले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि २०७८ अनुसार समितिहरू पुनर्गठन गरी कार्यहरू अगाडि बढाउने निर्णय गरेको छ।
सो कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन पालिका स्तरमा सेवा केन्द्र स्थापना गरी एक जना अधिकृत स्तरका दक्ष व्यक्तिलाई पूर्णकालीन कार्य गर्न २०७९ असार मसान्तसम्म व्यवस्था गर्ने निर्णय समेत भएको छ।