टुडेवाणी,डेस्क,जेष्ठ १२,काठमाडौं :पाँच वर्ष अगाडि विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा सुनसरी जिल्लाको इटहरीस्थित ब्लूमिङ लोटस इंग्लिस स्कूलको तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो ।
सीआईबीका अनुसार काठमाडौंको टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको हो । धरान उपमहनगरपालिका–५ स्थित ब्लूमिङ लोटस इङ्लिस स्कूलमा प्रिन्सिपल रहेका खड्कामाथि २०७४ साउन २६ गते सोही उपमहानगरपालिका( १३ स्थित एक गेस्ट हाउसमा लगेर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ ।
जानकारी अनुसार उपचारका लागि अस्पताल लैजाने भन्दै गेस्ट हाउसमा लगेर उक्त विद्यार्थीलाई बलात्कार गरेका थिए । साथै पछि स्कुलबाट रेस्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेको खड्कामाथि आरोप छ ।
केही समय अगाडि मात्रै काठमाडौंमा ब्यूटी प्याजेन्टको नाममा प्रतिस्पर्धीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । सोही क्रममा इटहरीको यो घटना पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो ।