टुडेवाणी,डेस्क,जेष्ठ १२,धनुषा :
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टीसँग सहकार्य गर्ने तयारी गरेको छ । ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जसपा गठबन्धका अन्य दलसँग असन्तुष्ट भइरहेका बेला एमालेले सहकार्य गर्ने तयारी गरेको हो । यसैक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् ।
देशका अधिकांश क्षेत्रमा सत्ता गठबन्धनसँग चुनावी धक्का खाएपनि नेकपा एमालेले तराई मधेसका जिल्लाहरूमा निर्णायक प्रभाव बनाएको छ । सत्ता गठबन्धनका दलहरूलाई एमालेले मधेस प्रदेशका अधिकांश जिल्लामा धक्का दिएसँगै सत्ता गठबन्धन संकटमा परेको आकलन गर्न थालिएको छ । गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आगामी प्रदेश र सङ्घीय निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने पक्षमा उभिन थालेको बेला जसपा भने तालमेलको क्रममा स्थानीय निर्वाचनमा कांग्रेसले धोका दिएको भन्दै असन्तुष्ट हुँदा ओलीले उक्त पार्टीका अध्यक्ष यादवलाई भेटेका हुन् ।
मधेसमा विशेष प्रभाव जमाएको जनता समाजवादी पार्टीले सत्ता गठबन्धनबाट खास उपलब्धि प्राप्त गर्न नसकेको र एमालेले आफ्नो पुरानो मत प्रतिशतलाई उल्लेख्य सुधार गरेसँगै जसपा र एमाले सहकार्य गर्नुपर्ने बाध्यात्मक अवस्थामा दुबै दल पुगेको विश्लेषण हुन थालेको छ ।